उखु किसानको आन्दोलन स्थगित

उखु किसानको आन्दोलन स्थगित

१६ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत तराईका उखु किसानले आन्दोलन स्थगित गरेका छन् । सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति  मन्त्रालयमा भएको वार्तामा २१ दिनभित्र किसानलाई सरकारले दाबी गरेको ६६ करोड बक्यौता दिलाइदिने सहमित भएपछि किसानले आन्दोलन स्थगित गरेका हुन् ।

आन्दोलनरत उखु किसानहरूका तर्फबाट राकेश मिश्रले देशको बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सरकारको जमानीमा उद्योगीले बक्यौता भुक्तानी गर्ने सर्तमा आन्दोलन स्थगित गरेको जानकारी दिए । ‘हामीले सबै रकम नपाएसम्म आन्दोलन नछाड्ने भनेका थियौँ, तर देशको परिस्थिति बदलिएकाले सरकारसँग सम्झौता गरेर आन्दोलन स्थगित गरेका हौँ,’ उनले भने ।

सरकारले चार मिलबाट उखु किसानले ६६ करोड रुपैयाँ बक्यौता पाउन बाँकी रहेको तथ्यांक देखाएको थियो । यसमध्ये सोमबारसम्म ३३.५ करोड रुपैयाँ किसानको खातामा उद्योगीले पठाइसकेको विवरण उद्योग मन्त्रालयले उपलब्ध गराएको छ ।

मन्त्रालयका अनुसार रौतहटको श्रीराम सुगर मिलले  २६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलले २ करोड र अन्नपूर्ण तथा इन्दिरा सुगर मिलले ५.५ करोड रुपैयाँ किसानहरूलाई भुक्तानी दिइसकेका छन् । ६६ मध्ये बाँकी ३२.५ करोड रुपैयाँ बक्यौता उद्योग मन्त्रालयले उद्योगीलाई दबाब दिएर असुल गरिदिने सहमति भएको छ ।

किसानहरूले सोही रकम २१ दिनभित्र भुक्तानी गरिदिने सर्तमा आन्दोलन स्थगित गरेका हुन् । किसनहरूले भने देशभरका ६ मिलबाट ९० करोड रुपैयाँ पाउन बाँकी रहेको तथ्यांक देखाएका छन् । किसानले देखाएको र सरकारले प्रस्तुत गरेको तथ्यांकमा फरक हुन आएको करिब ९० करोड रुपैयाँको भने एक सय २० दिनभित्र विस्तृत छानबिन गरी सोही छानबिन प्रतिवेदनका आधारमा बक्यौता असुली गर्ने सहमति भएको छ ।

सरकारसँगको सहमतिपछि किसानहरू मंगलबार बिहानै आ–आफ्नो घर जाने तयारीमा छन् । तराईको सर्लाही, रौतहट, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाबाट किसानहरू उखु बेचेको बक्यौता उठाउन काठमाडौं आएका थिए ।

Leave a Reply

Your email address will not be published.

X