तपाईंको खाता कुन–कुन बैंकमा छ ? के ती बैंक मर्जरमा गएका छन् ? मर्जरमा गएका दुवै बैंकमा तपाईंको बैंक खाता छ कि ? अथवा ती बैंकबाट तपाईंले विभिन्न किसिमका ऋण पो लिनुभएको छ कि ? त्यसो हो भने तपाईंको मनमा एउटा प्रश्न उब्जिएको छ— मेरो बैंक खाता के हुन्छ ? दुवै बैंकमा लिएको ऋण कसरी अघि बढ्छ ? विलय भएको बैंकको सेयर के हुन्छ ? राष्ट्र बैंकको निर्देशनले एउटा बैंकमा एकभन्दा बढी बचत खाता खोल्न पाइँदैन । मर्जरअघि दुई बैंकमा बचत खाता खोलिएको अवस्थामा ती बैंक गाभिएर एक भएपछि ग्राहकको बचत खाता पनि एउटै बनाउनुपर्छ । तर निक्षेप खातामा पैसा पनि हुन सक्छ ।
तपाईंको अनुमतिबिना बैंकले खाताको पैसा चलाउन पाउँदैन । यसकारण तपाईंका दुई बचत खातामध्ये एउटा बन्द गर्न बैंकले सार्वजनिक रूपमा ग्राहकलाई आग्रह गर्छ । सार्वजनिक रूपमा आग्रह गर्दा पनि खाता बन्द गर्न निक्षेपकर्ता नआएपछि बैंकले व्यक्तिगत रूपमा सम्बन्धित ग्राहकलाई सम्पर्क गरेर ऊसँग एउटा खाता बन्द गर्ने अनुमति लिन्छ ।
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि सुरुमा सार्वजनिक सूचनामार्फत निक्षेपकर्तालाई एकभन्दा बढी बचत खाता बन्द गर्न आह्वान गरिएको र त्यसपछि बचेका दोहोरिएका खाताका लागि व्यक्तिगत रूपमा निक्षेपकर्तालाई सम्पर्क गरेर दुईमध्ये एक खाता बन्द गर्न आग्रह गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जनाए । ‘बचत खाता समायोजन गर्न मात्र ग्राहकको अनुमति चाहिन्छ,’ उनले भने, ‘मुद्दती खाता र कर्जाको हकमा एउटै बैंकमा पनि एकभन्दा बढी खाता सञ्चालन गर्न पाइन्छ । कर्जाको हकमा एकल ग्राहक सीमा भने कायम गर्नुपर्छ । यसका लागि राष्ट्र बैंकले निश्चित समय दिएको छ ।’ नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकले गत असार २८ देखि एकीकृत कारोबार सुरु गरेको हो ।
बैंक अफ काठमान्डुलाई गाभेर गत पुस २५ मा एकीकृत कारोबार सुरु गरेको ग्लोबल आईएमई बैंकले पनि अहिले दोहोरिएका बचत खाता बन्द गर्न निक्षेपकर्तालाई आग्रह गर्दै सूचना निकाल्ने तयारी गरेको छ । ‘अहिले दोहोरिएका खाताको संख्या निकाल्दै छौं,’ ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले भने, ‘संख्या यकिन भएपछि सम्बन्धित ग्राहकलाई दुईमध्ये एक खाता बन्द गर्न छनोट गर्न भन्छौं ।’
मुद्दती खाता र कर्जाको हकमा भने समस्या नभएको वज्राचार्यले बताए । ‘साविकको बैंक अफ काठमान्डुमा निक्षेप खाता भएका निक्षेपकर्तासँग रहेको उक्त बैंकबाट जारी चेकबुक, एटीएम कार्ड अहिले पनि चल्छ । तर नयाँ चेकबुक र एटीएम कार्ड जारी हुँदा ग्लोबल आईएमईका नामबाट जारी हुन्छ,’ उनले थपे, ‘हाम्रो बैंकको हकमा साविकको बैंक अफ काठमान्डुमा निक्षेप खाता भएका ग्राहकको खाता नम्बर भने परिवर्तन हुन्छ । त्यो कुरा बैंकले निक्षेपकर्तालाई जानकारी दिन्छ ।’
एनसीसी बैंकलाई गाभेर गत पुस १७ देखि एकीकृत कारोबार सुरु गरेको कुमारी बैंकले पनि अहिले धमाधम दोहोरिएका निक्षेप खाता बन्द गर्ने काम गरिरहेको छ । ग्राहककै छनोटअनुसार दोहोरिएका खातामध्ये एउटा बन्द गर्ने काम भइरहेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जनाए । ‘राष्ट्र बैंकको निर्देशनले एउटै व्यक्तिको एकभन्दा बढी बचत खाता खोल्न पाइँदैन । यसअनुसार अहिले मर्जरका कारण दोहोरिएका बचत खाता बन्द गर्ने काम भइरहेको छ,’ अर्यालले भने, ‘साविकका एनसीसी बैंकमा बचत खाता भएका ग्राहकलाई विस्तारै कुमारी बैंकको खाता नम्बर, चेकबुक, कार्ड दिन्छौं ।’
मुद्दती निक्षेप र ऋण के हुन्छ ?
मर्जरअघिका दुवै बैंकका मुद्दती निक्षेप रहेको भए एकीकृत कारोबारपछि पनि ती खाता निर्बाध सञ्चालन गर्न पाइन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले एकै व्यक्तिको पनि एकभन्दा बढी मुद्दती निक्षेप खाता खोल्न र एकभन्दा बढी कर्जा खाता खोल्न पाइन्छ । यसकारण मुद्दती निक्षेप र कर्जाको हकमा खाता समायोजनको समस्या नभएको बैंकरहरू बताउँछन् ।
मानौं, कुनै ग्राहकले पहिले दुई वाणिज्य बैंकबाट सवारीसाधन कर्जा लिएको थियो । अहिले ती दुवै बैंक आपसमा गाभिएर एक बने । अब उक्त ग्राहकको एकै बैंकमा दुई सवारी कर्जा भए । यस्तो अवस्थामा बैंकले के गर्ला ? मुद्दती निक्षेप र कर्जाको हकमा दुवै खाता निर्बाध रूपमा सञ्चालन हुने ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत वज्राचार्यले बताए ।
‘एउटै व्यक्तिकै एकभन्दा बढी मुद्दती खाता खोल्न र एकभन्दा बढी कर्जा दिन पाइन्छ । यसकारण मुद्दती खाता र कर्जामा समस्या भएन,’ उनले थपे, ‘कर्जाको हकमा साविकको बैंकमा जुन सर्त र ब्याजदरअनुसार कर्जा प्रवाह गरिएको थियो, अहिले पनि त्यही नै रहन्छ । उक्त कर्जाको परिपक्वको अवधि सकिएपछि भने नयाँ बैंकको सर्त लागू हुन्छ ।’
हरेक क्षेत्रमा एक व्यक्ति वा संस्थालाई कतिसम्म कर्जा प्रवाह गर्ने भन्ने सीमा राष्ट्र बैंकले तोकिदिएको छ । मर्जरका कारण राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह गरेको हकमा त्यसलाई सीमाभित्र ल्याउन तीन वर्षको समय दिएको छ । ‘राष्ट्र बैंकको निर्देशनअनुसार एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएकालाई एउटा बैंकले आफ्नो प्राथमिक पुँजी कोषको बढीमा २५ प्रतिशतसम्म कर्जा दिन सक्छन्,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘मर्जरका कारण कुनै ऋणीको कर्जा त्यो सीमाभन्दा माथि भए सीमाभित्र ल्याउन तीन वर्षको अवधि दिइएको छ ।’
बैंकका संस्थापक सेयरधनीले उक्त सेयर धितो राखेर लिएको कर्जा पनि बैंक मर्जर भएपछि बढीमा तीन वर्षमा तोकिएको सीमाभित्रै ल्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ । ‘गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिसन) मा संलग्न संस्थाका एक प्रतिशतभन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक वा संस्थापक समूहका सेयरधनीले आफूले धारण गरेको संस्थापक सेयर धितो राखी लिएको कर्जा बढीमा तीन वर्षभित्र तोकिएको सीमाभित्र ल्याउन छुट दिइएको छ,’ मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावलीमा भनिएको छ ।
एउटै ग्राहकको एकभन्दा बढी शीर्षकमा कर्जा प्रवाह गर्न राष्ट्र बैंकको नीतिले छुट दिएको छ । यसकारण मर्जर तथा एक्विजिसनमार्फत एक भएका बैंकहरूलाई पनि एउटै व्यक्तिको एकभन्दा बढी ऋण खाता सञ्चालन गर्न नीतिगत अवरोध भएन । तर मानौं, ग्राहकले मर्जरअघि दुई बैंकबाट आवास निर्माण कर्जा लिएको छ, जसमा एउटा बैंकमा आधार दरमा ३ प्रतिशत र अर्को बैंकबाट आधार दरमा ४ प्रतिशत प्रिमियम जोडेर ब्याजदर तय गरिएको छ । अब ती बैंक मर्जर भए ।
त्यसपछि एउटै ग्राहकको दुई वटा आवास कर्जा हुने भए । यस्तो अवस्थामा बैंकले आधार दरमा कति प्रतिशत प्रिमियम जोड्ने ? यहाँनिर राष्ट्र बैंकको नीति चुकेको छ । यही कारण बैंक तथा वित्तीय संस्थाले आफ्नै तजबिजले ब्याजदर निर्धारण गर्ने गरेको जानकारहरू बताउँछन् ।
‘बैंकले एकै प्रकृतिको कर्जामा जोड्ने प्रिमियम समान हुन्छ । तर मर्जरअघिका बैंकमा फरक फरक प्रिमियम तय भएको अवस्थामा बैंकले नयाँ संस्था बनेपछि जुन बढी हुन्छ, त्यही प्रिमियम लगाइदिन्छन्,’ स्रोतले भन्यो, ‘उक्त ग्राहक चलाख रहेछ र उसको बैंकमा राम्रो चिनजान रहेछ भने उसलाई बैंकले कम प्रिमियम दर तोकिदिन पनि सक्छ ।’ यस सम्बन्धमा राष्ट्र बैंकको निर्देशन नरहेकाले बैंकले आफ्नो तजबिजमा निर्णय गर्दै आएको उनले बताए ।
पुराना बैंकको एप के हुन्छ ?
अचेल हरेक बैंक तथा वित्तीय संस्थाले मोबाइल एप बनाएका हुन्छन् । मर्जर तथा प्राप्तिमार्फत विलय हुने संस्थाको एप एकीकृत कारोबारपछि चल्दैन । यस्तो अवस्थामा ग्राहकले नयाँ कायम संस्थाकै एप अद्यावधिक गर्नुपर्छ । यही प्रक्रियाअनुसार गत पुस अन्तिम साता एकीकृत कारोबार सुरु गरेका बैंकहरूले नयाँ एप अद्यावधिक गर्न अहिले आफ्ना ग्राहकलाई सूचनामार्फत आग्रह गरिरहेका छन् । यस प्रक्रियालाई सजिलो र कम झन्झटिलो बनाउन प्रायः बैंकले ग्राहकले यसअघि प्रयोग गरिरहेको पुरानो संस्थाको एप खोल्दा स्वचालित रूपमा नयाँ बैंकको एपमा ‘कनेक्ट’ हुने व्यवस्था बैंकहरूले गरेका छन् ।
कुन बैंकको नामबाट सेयर ?
मर्जर हुनुअघि दुई बैंकले सेयर भएको अवस्थामा मर्जरपछि उक्त सेयर नयाँ बैंकको नामबाट जारी हुन्छ । दुईमध्ये पुरानै बैंकको नामबाट एकीकृत कारोबार गरिएको छ भने जुन नाम कायम भएको छ, विलय हुने बैंकको सेयरसमेत त्यही नाममा आउँछ ।
बैंक तथा वित्तीय संस्था मर्जर क्रममा कायम भएको सेयर मिलान अनुपातका (सेयर स्वाप रेसियो) आधारमा लगानीकर्ताको सेयर संख्या घट्ने हुन सक्छ । जस्तो कि, गत पुस २७ देखि एकीकृत कारोबार सुरु भएको नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक १ सय बराबर ९० कित्ता सेयर स्वामित्वका अनुपातमा गाभिएका हुन् । यसको अर्थ अब मेगा बैंकको एक सय कित्ता सेयर हुनेले मर्जरपछि बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९० कित्ता मात्र सेयर पाउँछन् ।