चुनाव जित्ने मन्त्री भए, मुसहरका दुःख उस्तै

चुनाव जित्ने मन्त्री भए, मुसहरका दुःख उस्तै

मधेस प्रदेशको राजधानी जनकपुर। १० किलोमिटर दक्षिणमा छ, फुलगामा गाउँ। जहाँ छ, मुसहरी (दलित) टोल। प्रदेशकै राजधानीबाट निकैनजिक भएर पनि मुसहरी टोलमा न कुनै भौतिक विकास पुगेको छ। न त शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको अनुभूति गर्न पाएका छन्, यहाँका मुसहरले। सधैं गरिबी, अशिक्षा र अभावले पिल्सिएका यहाँका मुसहरको भोट लिन चुनावका बेला मात्रै नेता पुग्छन्। चुनाव सकिएपछि गाउँमा नेताले नाक मुख पनि देखाउँदैनन्। त्यसैकारण सधैं अभाव, दुःख र पीडाको भारिले थिचिएका छन्, मुसहरहरू।

‘हमरा सभके नैत नागरिकता है, नैत भोटरकार्ड (हामी सबैको न नागरिकता छ, न त भोटरकार्ड (मतदाता परिचयपत्र),’ ४० वर्षीया कलावती सदाले मातृभाषा मैथिलीमा दुःखेसो पोखिन। कुनै पनि नेताले मुसहरका लागि केही नगरेको भन्दै उनले आक्रोश पोखिन। र, प्रश्न गरिन्– ‘किन भोट दिने ? ’ मैथिली भाषामा उनले भनिन्, ‘नैत कोनो नेतासुन कोनो सुविधा देले है। एहनमे भोट कैला देबै।’

नगराइन नगरपालिका ९ मा पर्ने यो टोलका अधिकांश मुसहरसँग नागरिकता पनि छैन। त्यसैकारण उनीहरूले मतदाता परिचयपत्र पनि बनाउन पाएका छैनन्। ‘सब सुविधा बरका लोग सबके है। अई मुसहरीमे कोइनै अबै है। हमर सबके धियापुताके नैत जनमदर्ता है नैत नागरिकता। अर्थात्, (सबै सुविधा ठूलाबडाका लागि मात्रै हुन्। हामी मुसहरका लागि केही पनि छैन। हाम्रा बालबालिकाको न त जन्मदर्ता छ, न त नागरिकता नै), कलावतीले पीडा सुनाइन्। गाउँमा स्कुल नभएकाले मुसहरका बालबालिकाले पढ्न नपाएको बताउँछिन्, मरणी सदा। ‘मुसहरीके बालबच्चासुन नै पढें लिखे है। स्कुलेनै है, कथि पढ्तै,’ अर्थात् (मुसहरका बालबालिका पढे लेखेका छैनन्। स्कुल नै छैन त, के पढ्छन् ?’ उनको प्रश्न थियो।

मुसहरले धुलो माटोसँग जीवन बिताइरहे पनि आफूहरूका लागि कसैले कुनै सहयोग नगरेको मरणी सदाले बताइन्। ‘मुसहरीके दुर्दशा अहाँसब देख लियौं हमसब सबदिन थाले माटिमे रहै छियै कोनो नेता आउरके मतलब नै है,’ मरणीले भनिन्। अर्थात् (मुसहरको दुर्दशा देखिहाल्नुभयो। हामी सधैं हिलोमाटोमै छौं। कुनै नेतालाई हाम्रो मतलव छैन।)

मुसहर बालबालिकाका लागि कुनै खाले राहत र सुविधा नआएको मरणीले दुःखेसो पोखिन। बालबालिकाको जन्मदर्ता गर्न जाँदा पनि पैसा (घुस माग्ने गरिएको) उनको भनाइ थियो। ‘गरिबले कहाँबाट ल्याएर पैसा दिने ?’ मरणीले आक्रोश पोखिन्।

चुनावको बेला भोट माग्न भने नेताहरू गाउँमा लाम लाग्ने गरेको मुसहरहरू बताउँछन्। चुनाव जितेपछि मुसहरका समस्याबारे कसैले पनि ध्यान दिँदैनन्। मठिहानी मठको ऐलानी जग्गामा ‘दयनीय’ जीवन गुजारा गरिरहेका यहाँका मुसहर जातिका अधिकांश महिलाको त मतदाता नामावलीमा नाम पनि छैन। जन्मदर्ता नभएपछि उनीहरूको नागरिकता बनेन्। नागरिकता नहुँदा मतदाता नामावलीमा नाम समावेश भएन। नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा र विकासका पूर्वाधारबाट पनि उनीहरू बञ्चित छन्।

फुलगामाका विभिन्न गाउँमा जाने बाटाहरू धमाधम निर्माण भइरहेका छन्। तर, मुसहर बस्ती जाने बाटो उदेकलाग्दो छ। खाल्डाखुल्डी, धुलोमैलो र साँघुरो छ। बाटो बनाइदिन यहाँका बासिन्दाहरूले पटक–पटक अनुरोध गरे पनि कसैले सुनुवाइ गर्दैन। बर्खाको बेला हिँड्नै नमिल्ने भएपछि गत असारमा नगरपालिकाले एक ट्र्याक्टर कमसल इँटा राखिदिएको थियो। त्यसैको सहारामा स्थानीयवासीहरू जेनतेन आउजाउ गर्छन्।

चुनावका बेला भने गाउँका सबै समस्या समाधान गरिदिने आश्वासन नेताहरूले बाँड्ने गर्छन्। अघिल्लो पटक यो क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतोले चुनाव जितेका थिए। चुनाव जितेपछि महतो एकपटक पनि आफ्नो गाउँमा नआएको मुसहरहरू बताउँछन्। मरणीदेवीले भनिन्, ‘नेतवासभके गाउँके बरका लोकसभसे मात्रे काम रहै है। सबतरके रस्ता बनबै है लेकिन मुसहरी बनाबेमे किजाने कथि होइहै।’

५० वर्षीया शीला सदा आफ्नो परिवारका कसैको पनि जन्मदर्ता र नागरिकता नबनेको बताउँछिन्। ‘मेरा छोरा, नातिनातिनी कसैको पनि न जन्मदर्ता छ न नागरिकता नै,’ उनले भनिन्, ‘नागरिकता नभएपछि केको भोट हाल्न पाउनु ?’ मुसहर बस्तीमा पुरुषको नागरिकता छ, तर अधिकांश महिलाको छैन। महिलाको नागरिकता बनाउन परिवारकै सदस्यले पनि चासो देखाउँदैनन्। स्थानीय बनारसी सदाले आफ्ना पतिको नागरिकता भए पनि आफ्नो नभएको बताइन्। ‘बुढाको छ। मेरो त बनाएकै छैन,’ उनले भनिन्। उनले नेताहरू भोट माग्न ५÷५ वर्षमा मात्रै आउने गरेको गुनासो गरिन्। ‘चुनाव बेला त हो हाम्रो गाउँमा पनि नेता आउने,’ उनले भनिन्, ‘अरू बेला त उनीहरूको नाममुख नै देखिँदैन।’

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायका घरविहीनलाई घर बनाइदिने घोषणा गरेको थियो। तर, यहाँको मुसहर बस्तीमा यो कार्यक्रम पनि अलपत्र छ। ५० घरपरिवार रहेको बस्तीमा २० परिवारका लागि घर निर्माण हुँदैछन्। बनाउँदै गरिएका घर पनि बीचमै अलपत्र छोडिएका छन्। छाना पनि हालिएको छैन। त्यसैकारण मुसहरलाई वर्षामा पानी र हिउँदमा शीतलहरको पीडा भोग्नुपर्छ।

 

 

Leave a Reply

Your email address will not be published.

X