राष्ट्रपतिमा पूर्वसभामुखको भिडन्त

राष्ट्रपतिमा पूर्वसभामुखको भिडन्त

राष्ट्रपतिमा दुई पूर्वसभामुखको भिडन्त हुने भएको छ। नयाँ समीकरणबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको उम्मेदवारी शनिबार परेको हो। पौडेलका प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत नेता अब्दुल खान, जसपा नेता अशोक राई छन्। उनका समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे छन्।

नेम्बाङका प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक छन्। उनका समर्थकमा एमालेकै योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन्।

पौडेल २०५१ पुस ३ देखि २०५५ चैत ९ गतेसम्म सभामुख थिए। नेम्बाङ चार पटक उक्त पदमा पुगेका थिए। उनी पहिलो पटक २०६३ वैशाख ३० देखि माघ १ सम्म सभामुख बनेका थिए। दोस्रो कार्यकाल २०६३ माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म रह्यो। तेस्रो कार्यकाल २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म रह्यो। चौथो कार्यकाल २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म रहेको संसद्को अभिलेखमा उल्लेख छ। दुवै संविधानसभाको नेतृत्व पनि उनले नै गरेका थिए।

पौडेलले आफूलाई एमालेले पनि साथ दिने अपेक्षा गरेको बताए। राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने अपेक्षा उनले सुनाएका हुन्। ‘एमाले अध्यक्ष पनि मसँगै जेल बस्नुभएको हो। पुरानो साथी हो। यो (राष्ट्रपति) पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’, उम्मेदवारी दर्तापछि पौडेलले पत्रकारसँग भने।

आफू राष्ट्रपतिमा निर्वाचित भए संविधानको अक्षरशः पालना गर्ने उनले बताए। गणतन्त्र संस्थागत गर्ने र नेपाली जनताको सार्वभौमसत्तालाई बलियो र सुरक्षित बनाउने उनको भनाइ थियो। नेम्बाङले आफू निर्वाचित भएपछि ‘जनताको राष्ट्रपति’ भएको अनुभूति हुने गरी काम गर्ने बताए। ‘जतिबेला राष्ट्रपति प्रणाली थिएन। हामीले संविधान बनाएर राष्ट्रपतीय प्रणालीको व्यवस्था गरेका छौं’, नेम्बाङले पत्रकारसँग भने, ‘त्यसभन्दा अगाडि निश्चित कुलको जेठो छोरा राष्ट्राध्यक्ष हुने प्रणाली थियो। तर, हामीले जुनसुकै कुलमा जन्मिएको छोरा या छोरी राष्ट्रपति हुने व्यवस्था गरेका छौं। अब जनताको राष्ट्रपति व्यवहारमा अनुभूत हुने गरी काम गर्ने मेरो प्रयास हुनेछ।’

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा एमालेको जित हुने दाबी गरे। ‘हामीलाई विश्वास छ, हामी अत्यधिक मतका साथ विजयी हुन्छौं’, राष्ट्रपतिमा नेम्बाङको मनोनयन दर्तापछि ओलीले भने, ‘हामीले विधिपूर्वक उम्मेदवार उठाएका छौं। उम्मेदवारीको निस्सा पनि लिइसकेका छौं। यो उम्मेदवारी दलीय स्वार्थ होइन। संविधानको सही र सफल कार्यान्वयनका लागि हो। प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो।’

ओलीले सत्तारूढ गठबन्धन तल–माथि नभएकाले आफ्नो उम्मेदवार नेम्बाङ अत्यधिक मतका साथ विजयी हुने बताए। राष्ट्र र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर नेम्बाङलाईं उम्मेदवार बनाएको उनको भनाइ थियो। ‘आफ्नो दलीय स्वार्थ होइन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको हितका लागि, जनताको हितको लागि, संविधानको रक्षा, कार्यान्वयन, सही सफल कार्यान्वयनका लागि, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि यो उम्मेदवारी उठाएका हौं’, ओलीले भने, ‘हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्रै होइन, स्वागतको विषय बन्नेछ।’

एमालेले उठाएको उम्मेदवार दाउपेचको नभएको उनको भनाइ थियो। ‘एक त यो वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै यस विषयमा टुंगो लागिसकेको थियो। त्यसो भएर यसमा सहमत सबै पक्ष प्रतिबद्ध भएर लाग्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं’, उनले भने। कांग्रेस नेतृत्वमा आठदलीय गठबन्धन नै नबनेको दाबी उनले गरे।

Leave a Reply

Your email address will not be published.

X