जीर्ण अवस्थामा सहिद रामनाथ दाहालको घर

जीर्ण अवस्थामा सहिद रामनाथ दाहालको घर

यो जीर्ण घर सहिद रामनाथ दाहालको हो । झापा, बिर्तामोड–२ रातमाटेको यो घर कुनै बेला कम्युनिस्ट आन्दोलनको केन्द्र थियो । धेरै कम्युनिस्टहरुको पाठशाला जस्तो घर अहिले भत्किएर, मक्किएर ढल्ने अवस्थामा छ । २०२८ सालको झापा विद्रोहको अगुवा कम्युनिस्ट नेता रामनाथ दाहाल यही घरबाट समातिएका थिए, २०२९ मा । केही समय चन्द्रगढी कारागारमा राखिएका उनलाई २०२९ को फागुन २१ मा जेल सार्ने बहानामा झापा–इलामको सीमावर्ती सुखानी जंगलमा गोली दागेर मारियो । उनीसँग मारिए, वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइकेल र नेत्र घिमिरे ।

दाहालकी जेठी छोरी शान्ता पौडेलका अनुसार करिब २०२०/२०२१ सालतिर यो घर निर्माण भएको हो । ‘पहिला यही घरको पश्चिमतिर तित्रीको रुखको फेदमा काठको टाँडेघर थियो,’ शान्ताले सुनाइन्, ‘त्यो घर हुँदाहुदै बुबाले यो थप्नु भएको थियो ।’ शान्ताका अनुसार २०२० को दशकतिरै रामनाथ कम्युनिस्ट पार्टीमा सक्रिय भइसकेका थिए । कार्यकर्ताहरु आउजाउ गर्ने, भेला, बैठक हुने क्रम तीव्र बन्दै गएको थियो । राजनीतिक भेला, बैठक गर्नैका लागि उनले नयाँ घर थपेका थिए ।

दाहालले त्यो घरलाई साहित्य, कला, संगीत र राजनीतिको केन्द्र जस्तै बनाएका थिए । कुनै बेला त आश्रम जस्तो पनि लाग्थ्यो । झापा आन्दोलनका जानकार अध्येता निरोज कट्टेलका अनुसार साँझ परेपछि गाना बजाना चल्थ्यो । अरु बेला आन्दोलनकारीको सेल्टर । ‘दुःख पाएका मान्छेहरुको आश्रयस्थल पनि थियो रामनाथको घर,’ उनले भने, ‘केपी ओली जस्ता युवा लडाकुको आश्रयस्थल पनि यही घर थियो ।’

केपी ओली नाताले दाहालका साला थिए । त्यही नाताले उनी दाहालसँगै बसेर पढ्थे । उनी दाहालका अत्यन्तै निकट मानिन्थे । ‘यहीबाट केपी मामा घैलाडुवा स्कुल धाउनुहुन्थ्यो,’ शान्ताले थपिन्, ‘बुबाबाटै उहाँले कम्युनिस्ट राजनीति सिक्नु भएको थियो ।’ दाहालको हत्या पछि यो घर कान्छी श्रीमती विश्वेश्वरा दाहाल अंशमा पर्‍यो । उनी घर छाडेर बिर्तामोड सरिन् । अहिले काठमाडौं बस्छिन् । ‘बुबाले बनाएको घर छाडेर सानीआमा (विश्वेश्वरा) अन्तै बस्न थाल्नु भयो,’ शान्ताले भनिन्, ‘त्यसपछि यो घर अलपत्र परेको परै भयो ।’ पहिला घरसँगै एक बिघा जमिन थियो । अहिले १५ कठ्ठाजति मात्रै छ ।

पोहोर फागुन २१ मा सुखानी पुगेर फर्किए पछि एमाले अध्यक्ष केपी ओलीले दाहालको पुरानो घर झापा विद्रोहको सेल्टर रहेको र त्यसको संरक्षण गर्ने आश्वासन दिए । तर अहिलेसम्म घरको संरक्षणका लागि भनेर ‘सिन्को’ समेत नभाँचिएको परिवारको भनाइ छ ।

नजिकै सतार जेठा भन्ने कम्युनिस्ट लडाकुको घर थियो । उनको घर पनि नेता/कार्यकर्ताको सेल्टर थियो । अति गोप्य बैठकहरु सतारकै घरमा हुन्थ्यो । ‘गोप्य छलफलहरु सतार जेठाको घरमा हुन्थ्यो,’ छोरी शान्ताले भनिन्, ‘पकाउने/खाने काम चै हाम्रो घरमा हुन्थ्यो ।’ रामनाथसँगै जेठा सतार पनि जेल परे । ५ वर्षपछि छुटे । अहिले उनको परिवार यो पुरानो थातथलोबट विस्थापित भइसकेको छ ।

अध्येता कट्टेलका अनुसार दाहाल तेह्रथुमको ईवाबाट बसाइँ सरेर झापा झरेका थिए । उनी त्यो समयका धनी किसान मानिन्थे । झापा आएपछि नाताले भान्जा पर्ने शनिश्चरेका शिवप्रसाद शिवाकोटीसँग मिलेर होटल पनि चलाएका थिए । उनको आफ्नै धान मिल थियो । घैलाडुवामा धान चामलको व्यापार गर्थे । ‘रोचक त के भने उनीसँग त्यो जमानामा रसियन जिप थियो,’ उनले थपे, ‘ट्रक र घोडाहरु पनि थिए ।’ उनको घरमा कोही कसै माथि उचनिच, छोइछिटो थिएन । उनमा क्रान्तिकारी चेत थियो ।

वल्लभमणि दाहालहरुको सम्पर्कबाट उनी कम्युनिस्ट बनेका थिए । झापा झरेपछि कम्युनिस्ट पार्टीमा आवद्ध भए । गाउँ पञ्चायतको चुनाव पनि लडे । तर पराजित भए । उनी पूर्व कोसी प्रान्तीय कमिटीसँग नजिक थिए । झापामा युवाले सशस्त्र विद्रोह गर्दा उनीहरुसँग सामेल भए । ‘झापा आन्दोलनमा लागेकाहरुमध्ये उनी सबभन्दा सुझबुझ भएका परिपक्व नेता थिए,’ कट्टेल भन्छन् ।

उनका अनुसार उनी कम्युनिस्ट नेता लीला कट्टेलको घरमा गोप्य बैठक सकेर घर आइपुगेका मात्रै थिए, त्यही बेला प्रहरीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो । त्योबेला केपी ओलीले भने भागेर ज्यान बचाएका थिए । ‘त्योबेला उनी सायद पक्राउ पर्दैन थिए होला तर ओभर कन्फिडेन्सले उनी पक्राउ परेको देखिन्छ,’ कट्टेलले थपे, ‘जिल्लामा सबैले मान्ने/जान्ने नेता थिए । नेम र फेमका कारण पक्राउ नै पर्दिनँ, परिहाले जेल कोच्दैनन् भन्ने आत्मविश्वास उनमा उच्च थियो ।’ तर उनी पक्राउ मात्रै परेनन जेल सार्ने बहानामा मारिए नै ।

शनिश्चरेका जमिनदार धर्मप्रसाद ढकालका बाबुछोराको हत्या पछि पार्टीले भूमिगत बन्न निर्देशन गरेको थियो । तर उनी आनाकानी गर्दै बसे । उनी मारिनुको कारणचाहिँ धनी, सम्पन्न वा रवाफिलो जीवन भए पनि व्यवस्थाविरुद्ध लाग्ने जोकोहीलाई राज्यले छाड्दैन भन्ने मनोविज्ञान रहेको कट्टेलको भनाइ छ । उनी घोडा चढेर मधेस–पहाड आउजाउ गर्थे । एक पटक राजा महेन्द्रको सवारी भएछ । सवारीमा घोडा हुनेले घोडा, हात्ती हुनेले हात्ती, गोरुगाडा हुनेले गोरुगाडा दिए । तर रामनाथले राजाको सवारीमा आफ्नो घोडा दिएनन् ।

 

Leave a Reply

Your email address will not be published.

X